- केदार शाक्य
पूर्वपश्चिम राजमार्गको नवलपरासीबाट पश्चिम बुटवलदेखि पूर्व १६ किलोमिटर खण्डको उब्जाउ खेतीयोग्य भूभाग उत्तर चुरे पर्वतसम्म हरियाली जंगलले ढाकेको रुपन्देही जिल्लास्थित देवदह गाविस प्राचीन देवदहको पुरातात्विक क्षेत्र भएको विश्वास गरिन्छ।
यहाँ थुप्रै ऐतिहासिक र पुरातात्विक अवशेष पाइएका छन्। प्राचीन कपिलवस्तु राज्यको पूर्वी सीमा र कोलीयराज्यको पश्चिमी सीमा रोहिणी नदी अहिले पनि राजमार्गमा देखिन्छ। यही रोहिणी नदीको पानी उपयोग गर्ने बारे कपिलवस्तु र कोलीयराज्यबीच झगडा भइरहेको बेला सिद्धार्थ गौतमले प्राकृतिक सम्पदामाथि सबैको हक हुन्छ दुबै राज्यले पानी आधा-आधा बाँडेर खेती गर्नु उचित हुन्छ भन्ने प्रकट विचारको मत विभाजन हुँदा सिद्धार्थ अल्पमतमा परेपछि उनले गृहत्यागलाई रोजेका थिए। यद्यपि यो भनाइ डा. भीमराव अम्वेदकरले राजनीतिक कारणले अभिप्रेरित भई उल्लेख गरेका हुन् भनी आचार्य भिक्षा अमृतानन्द महास्थविरले आफ्नो बुद्धकालीन ग्रन्थमा उल्लेख गर्नुभएको छ। मूल कुरा सिद्धार्थ युवावस्थादेखि नै लडाइँ झैझगडाका विरोधी थिए। त्यसमाथि पनि सबैका लागि नभई नहुने पानीमाथि विवाद गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो भन्ने कुरा सिद्धार्थमा त्यसबेलादेखि नै सुदृढ रुपमा थियो भन्ने देखिन्छ।
source:kapibastuday
|